निर्मला घटनामा प्रमाण नष्टबारे अदालतको ब्याख्या : अन्जान अपराधीलाई बचाउन प्रमाण नष्ट गरेको आरोपमा सत्यता देखिन्न

अपराधी नै एकिन नभएको अवस्थामा कसैलाई बचाउन वा कसैलाई फसाउनु पर्ने कुनै जरुरत नै नहुँदा आरोप तथ्यहिन देखिन्छ।

  • केपी ढुंगाना

किशोरी निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धानमा जोडिएका आठ प्रहरी लामो समयदेखि अनुसन्धानकोक्रममा दिलिप सिंह विष्टलाई यातना दिएको यातना र सार्वजनिक न्याय विरुद्धको कसुर अन्तर्गत निर्मला बलात्कार र हत्यासँग सम्बन्धित प्रमाण नष्ट गरेको अभियोग खेप्दै आएकामा साउनमा दुबै मुद्धाको फैसला भयो र सबैले सफाई पाए।

सफाइबारे एकमुष्ट समाचार बने। यातना दिएको मुद्धाको पूर्णपाठका आधारमा केहीमा समाचार पनि बने तर सार्वजनिक न्याय विरुद्धको कसुर अन्तर्गत प्रमाण नष्टको पूर्णपाठले भने सञ्चारमाध्यममा त्यति स्थान पाएन। तर निर्मला केसमा यो मुद्धा दिलिप सिंहले यातना पाए कि पाएनन् भन्ने भन्दा महत्वपूर्ण हो।

किनकी निर्मला केसको अनुसन्धान अझै सकिएको छैन। अपराधी को हो खुलेको छैन। यस्तो अवस्थामा प्रमाण नष्ट गरेको हो या हैन भन्नेले महत्वपूर्ण अर्थ राख्छ र भोलीको अनुसन्धानको बाटो समेत देखाउँछ। साउन २३ को मा आएको फैसलाको पूर्णपाठ भने भदौं पहिलो हप्तातिर हात परेको थियो। पहिला यातनाबारे नै लेखे। प्रमाणनष्टबारे लेखौंला भनेको के-केमा अल्झिएर ढिला भइरहेको थियो। आज भने मुड चल्यो। समय नि जुर्यो।

एकै सामाग्रीमा समग्र सबै पाटो समेट्ने योजना थियो। दावी,अदालतको ब्याख्या र त्यसमा टिप्पणी। तर यसो गर्दा निक्कै लामो पो हुने भयो। त्यसैले यसलाई टुक्राएर प्रस्तुत गर्दैछु। पहिलो भागमा प्रमाण नष्ट गराएको दावीमा उठाएका मुख्य ६ प्रश्न र सोबारे अदालतले गरेको ब्याख्याको मुख्यबुँदालाई समेटेको छु।

अदालतको सबै ब्याख्याप्रति मलाई त्यति चित्त बुझेको छैन। के के विषयमा चित्त बुझेन भनेर लेख्दा लामो हुने भएकाले त्यो चै अर्को भागमा लेख्छु।

आज निर्मला पन्तकी आमाले उठाएका ६ सवाल र त्यसमा अदालतको ब्याख्या समेटेको छु। पछि निर्मलाको आमाले जाहेरी फिर्ताको निवेदन दिएकी थिइन्। तर जाहेरी दर्तासँगै सरकारवादी मुद्धा बनेकाले निवेदनकै भरमा फिर्ता हुन सक्दैनथ्यो त्यसैले अगाडि बढेको थियो। अदालतले सफाई दिँदा उनकै दावीमा टेकेको थियो।

निर्मला हराएको भन्दै प्रहरीलाई भन्दा तत्काल खोजी नगरिएको

निर्मला हराएको दिन व्यापक बर्षा भएको र रातको समयमा छोरी हराएको मात्र भनिएको छ। छोरीको परिचय खुल्ने कागगजात पनि छैन। सो बेलासम्म हत्या वा अन्य कुनै अनिष्टको शंका गरिएको छैन। १३/१४  बर्षकी केटी मान्छे हराउँदा अरु कुरानै अनुमान गर्ने चलन पनि हाम्रो समाजमा नभएको हैन। गम्भिर घटनाको आशंका भएको भए प्रहरीले तदरुकता नदेखाउनुमा लापरवाही भयो भन्न पनि सकिन्थ्यो होला ।

तर धेरै पानी परेको र राती १०/११ बजी सकेको अबस्थामा छोरी हराएको भन्ने  मात्र सुचना पाएको र तत्काल पहिचान खुल्ने कागजात पनि नभएको अवस्थामा भोली विहानदेखि खोजतलास गरौँला भनेर दुर्गादेवी, लक्ष्मण भट्ट सामेत सहमत भै फर्केको वास्तविक तथ्यलाई अन्यथा देखाउन अनर्गल प्रचार गरिएको कुराकै आधारमा प्रहरीले तत्काल खोजतलासमा तदारुकता नदेखाएको भन्नु सामान्य समझका व्यक्तिको नजरमा मानवीय संवेदनासँग खेलबाड गर्न खोजेको भन्ने देखिन्छ।

घटनास्थलको सुरक्षा नगरिएको र भीड नियन्त्रण नगरेको

२०७५ साउन ११ विहान ८:३० बजेतिर निम्बुखेडास्थित सडकको नजिकै सानो खोला छेउँमा साइकल देखेपछि हल्लाखल्ला भएसँगै निर्मलाकी आमा त्यहाँ पुगेर हेर्दा साइकल निर्मलाकै भन्ने एकिन गरेपछि प्रहरीमा खवर भएपछि सालघारी प्रहरी चौकीका इन्चार्ज र जिल्ला प्रहरी कार्यालयबाट हरसिंह धामी समेतका ३/४ जना प्रहरी त्यहाँ पुग्दा १५०/२०० जनाको भिड भइसकेको थियो। प्रहरी समेत भएर उखुबारी भित्र जाँदा घोप्टो परेको र आधा पानिले डुबेको अवस्थामा लास देखेपछि लास हेर्न स्थानियको ठुलो भिड त्यहाँ पुग्छ। पानी परी जमेको पानीमा सयौं मानिसले टेक्दा लास वरिपरि हिलाम्मे हुन्छ। तत्काल ३/४ जना प्रहरी मात्र भएकाले भिड नियन्त्रण सम्भव हुन्न।

निर्मलाको शब फेला परेको स्थान

लास घोप्टो परेको, आधा जति भाग हिलाम्मे पानीमा डुबेको अवस्थामा रहेको, माथीको लुगा अली माथी सर्किएको,तलको सुरुवाल एक खुट्टाको पुरै खोलिएको, अर्को खुट्टाको सुरुवाल खुट्टाको तल्लो भागमा अल्झिएको र हिलाम्मे भएको अवस्थामा फेला परेको, लास पल्टाएर हेर्दा योनिबाट रगत जस्तो बस्तु पानीमा बगेर गएको, घाँटीमा केही डाम जस्तो रहेको तथा करिव ३० मिटर पर साइकल रहेको भन्ने घटनास्थल मुचुल्काबाट देखिन्छ। घटनास्थलका प्रत्यक्षदर्शी रहेका ब्यक्तिले नै घटनास्थलनै हिलाम्मे रहेकोहुँदा प्रहरीबाट त्रुटी भएको होइन भन्ने उल्लेख गरेको देखिन्छ। घटनास्थल सिल नगरिएको भन्ने भनाई झट्ट हेर्दा त जायज नै लाग्ला तर सिल नगरिएको कारणले परिणाममा फरक नपारेको हुँदा सो कुरा पनि तथ्यपरक देखिन्न।

थप सामाग्री

‘निर्मला केस’मा सफाई पाएका प्रहरीको निलम्बन फुकुवा भएन, अब नियमावली नै संशोधन गर्नुपर्ने
दिलिपसिंह यातना मुद्धामा भाइरल भयो अमेरिकी पूर्व राष्ट्रपति ओबामाको माफी प्रशंग
– दिलिपसिंह यातना केसमा अदालतलको गजवको आदेश : यातना दिएको भन्दै मुद्धा चलाउने र निर्देशन दिनेले मुद्धा खेपेका प्रहरीसँग माफि माग्नु

मृतकको सुरुवाल धोई पखाली गरी प्रमाण नष्ट गराएको

लासको एक खुट्टामा तल अल्झिएको अवस्थामा सुरुवाल भएकोले त्यसमा केही विर्य, रगतको टाटा छ कि भनी हेर्नका लागी अल्झिएको खुट्टाबाट निकाल्नै पर्ने हुन्छ। त्यसरी निकालेको सुरुवाल हिलाम्मेहुँदा पानीमा नचोभी कसरी हेर्न सकिन्छ? अझ हिलो सहितको सुरुवाल लिई आउने कुरा पनि हुन्न। यध्यपी लासको यौनाङ्ग देखिएर आफुलाई असहज लागेकाले सो सुरुवालले आफुले यौनाङ्ग छोपिदिएको भन्ने प्रतिवादी चाँदनी साउदको भनाई रहेकाले निजको भनाई पनि स्वाभाविक छ। त्यति बेलासम्म अपराधी को हो भन्ने कुनै शंकासम्म भएको छैन। एक अन्जान अपराधीलाई बचाउन चाँदनी साउदले सो सुरुवाल पखालेको भन्ने आरोपमा कुनै सत्यता देखिन्न।

निर्मलाको सुरुवाल पखाल्दै चाँदनी। तस्बिर: दियोपोष्ट

लाज ढाक्नका लागि आफूले सुरुवाल खोली यौनाङ्ग ढाकिदिएको भन्ने कुरा अस्वभाविक नलाग्नुका साथै सुरुवालमा कुनै प्रमाणयोग्य वस्तु छन् कि भनी हेर्नका लागि हिलाम्मे भएको सुरुवाललाई पानीमा सामान्य चोबलेको कुरालाई अनावश्यक रुपमा तोडमोड गरेको देखियो। अपराधी नै एकिन नभएको अवस्थामा चाँदनी साउदले कसैलाई बचाउन वा कसैलाई फसाउनु पर्ने कुनै जरुरत नै नहुँदा निज उपरको आरोप तथ्यहिन देखिन्छ।

घाँटीमा भएको फिङ्गर प्रिन्ट र घटनास्थलको फुट प्रिन्ट नलिएको

प्रहरी निरिक्षक एकिन्द्र खड्का र हरसिंह धामीले घटनास्थलबाट मृतकको घाँटीमा रहेको फिङ्गर प्रिन्ट नउठाएको र सो फिङ्गर प्रिन्ट वा फुट प्रिन्ट उठाएको भए हत्यारा पत्ता लाग्ने थियो भन्ने अर्को आरोपका सम्बन्धमा हेर्दा लास घोप्टो परी आधा पानीले डुबेको अवस्थामा रहेको, १ फिट भन्दा बढी पानी जमेको थियो भन्ने कुरा गणेश ओझा समेतको भनाइबाट देखिएको छ। घोप्टो परेकोहुँदा जबर्जस्ती करणी भएर योनीबाट बग्ने रगत वा बिर्य पानीमा घूलेर जाने तथ्य सबैले बुझ्ने कुरा हो । एकिन्द्र खड्काको बयानबाट योनिबाट रगत जस्तो पदार्थ पानीमा गएकोले उठाउन नसकिएको भन्ने देखिन्छ। घाँटीमा केही डाम जस्तो देखिएकोमा घाँटी पानीमा डुबेको अवस्थाहुँदा घँटीबाट फिङ्गर प्रिन्ट उठाउन सम्भव हुन्न। अझ सैंयौँको भिडले घटनास्थल कुल्चेर हिलाम्मे पारेको अवस्थामा फुट प्रिन्ट उठाउने पनि कुनै सम्भावना रहँदैन। जुन कुरा मानविय कार्यको सम्भावना बाहिरको छ त्यस्तो कार्य किन भएन भनेर प्रश्नोत्तर गरिनु अन्तहिन विवादमा फस्नु हो र त्यस्तो वास्तविकता भन्दा बाहिरको आरोप लगाउनु जायज कार्य हैन।

घटनास्थलबाट शब लिई आउँदा पर्याप्त सुरक्षा प्रवन्ध नगर्दा मृतकको पेन्टी र सुरुवाल हराएको

प्रहरीले वडाध्यक्षको रोहबरमा घटनास्थल प्रकृति मुचुल्का र लासजाँच मुचुल्का खडा गरीसकेपछि ट्याक्टरमा लास सहित घटनास्थलबाट बरामद भएका कपी,साइकल, अम्बा, सुरुवाल सहित केही प्रहरी बसेर लासलाई पोष्टमार्टमका लागि अस्पताल ल्याउन लाग्दा स्थानीयको ठुलो भिड भएर लास सहित नियन्त्रणमा लिएर नगरपालिकामा लानुपर्दछ भन्दै नाराबाजी, हानाहान भएपछि लास र दशीका सामान जोगाउन त के कुरा प्रहरीलाई आफ्नै ज्यान जोगाउन कठिन स्थिति बनेको हुन्छ।

कञ्चनपुरमा भएको आन्दोलन। तस्बिर: अन्नपूर्ण पोष्ट

सोही अवस्थामा मृतकको सुरुवाल र पेन्टी गायव हुन्छ। यहाँचाँही बरामद दशीको प्रमाण हराएर प्रमाण लोप भएको भन्न सकिन्छ। सबुत जोगाउने नाममा प्रहरीले जुनसुकै हरकत गर्न सक्थ्यो भन्ने आग्रह गलत हो। प्रमाणहरु संरक्षण गर्न नसक्नु अनुसन्धान अधिकृत तोकिएका एकिन्द्र खड्काको र नीजले जाहेरी गर्दा सुरक्षाको भरपर्दो प्रवन्ध गर्न नसक्नु तत्कालिन प्रहरी प्रमुख दिल्लीराज विष्टको कमजोरी देखिन्छ। यध्यपी नीजहरुको भुमिका प्रमाण लोप गराउने प्रकृतिको किन पनि छैन भने को कसलाई बचाउन प्रमाण लुकाउनु पर्ने या लोप गराउनु पर्ने भन्नेमा अभियोग मौन छ। भिडले सामान लगेको वा हराएकोमा घटनाको छानविन गरी लुटीलाने उपर कार्वाही गर्न वा लुटीलगेको प्रतिवेदन दिन वा मुचुल्का सम्मपनि बनाउन नसकेको कार्य व्यवसायिक आचरणसँग सम्बन्धित विषय भएकाले उनीहरुमाथि समान्य विभागिय कार्वाहीको विषय हुन सक्नेमा यस प्रकारको मुद्दा चलाउनु विवेकसम्मत मान्न सकिएन।

दिलिप सिंह विष्टलाई फसाउन सर्टको खल्ती च्यातेर नक्कली प्रमाण खडा गरेको

वास्तविक हत्यारालाई जोगाउन अर्कै ब्यक्ति दिलिप सिंह विष्टलाई पक्राउ गरी नीजको घरबाट खल्ती नभएको सर्ट बरामद गरेको मुचुल्का बनाएको र केही पछि घटनास्थलबाट सर्टको खल्ती बरामद गरेको देखाई थप प्रमाण देखाउन खोजेको र सो कार्यबाट प्रतिवादी अंगुर जिसी, एकिन्द्र खड्का र हरसिंह धामीको भुमिका भएको भन्ने आरोपको सम्बन्धमा हेर्दा अनुसन्धान अधिकृत घटनाकाबारेमा छानविन गर्न स्वतन्त्र हुन्छन्।

दिलिपसिंहलाई सर्वजनिक गर्दै प्रहरी। तस्बिर: छिनछिनखवर

घटनापछि शंकित ब्यक्ति पक्राउ र अनुसन्धान भएको छ। नीज उपर केही प्रमाण छन् कि भनी घर वा घटनास्थलबाट खानतलासी वा पुन अनुसन्धान हुन नसक्ने भन्ने हुन्न। अपराधीसम्म पुग्न अनुसन्धान अधिकृतले अन्डर कभर अप्रेशनसम्मका अनेकन बैधानिक उपाय अपनाउन सक्छन् जुन कुरा सार्वजनिक नगर्दा हुन्छ।

आफुलाई नियमन गर्ने अधिकृतलाई पूर्व जानकारी दिनु नै पर्याप्त हुन्छ। शंकित ब्यक्ति पक्राउ परेको र थप प्रमाण पाउन सकिन्छ कि भनेर घरबाट सर्ट बरामद गरेको कार्य विधि सम्मत नै हुन्छ। च्यातिएको सर्टको खल्ती तत्काल घटनास्थलमा फेला नपरेकोमा पछि कसरी फेला पर्यो भन्ने प्रश्न गर्न सकिन्छ। यध्यपी झुट्टा काम गरिनु प्रहरीको व्यवासायीक धर्म हैन र यो विषय मुल मुद्दालाई असर पार्ने विषय रहेकाले तत्काल ठोस रुपमा बोल्न नमिल्ने र यसरी थप भएका प्रमाणबाट दावि गरिए जस्तो प्रमाण लोपको अवस्था नहुने र दावी गरेकी कानुनले यस्ता थप बरामदीको कार्यलाई कसुर नमानेको अवस्था देखिन्छ।

तसर्थ मृतकको शारिरिक परिक्षणबाट करणी भएको र घाँटी थिचि हत्या भएको भनेको अवस्था भई ती कुरासँग सम्बन्धित प्रमाणहरु नष्ट भएको अविस्था देखिएन। जुन घटनालाई स्थापित वा खण्डित गर्ने प्रकारका प्रमाण नष्ट नभएको अवस्थामा  यी प्रतिवादीहरुले प्रमाण लोप गराएको भन्ने आरोप पुष्टी हुने कुनै पनि आधार, कारण र प्रमाण विध्यमान रहेको नहुँदा आरोपित कसुरबाट प्रतिवादीहरु दिल्लीराज विष्ट, अंगुर जिसी, एकिन्द्र खड्का, ज्ञानबहादुर सेठी, चाँदनी साउद, जगदिश प्रसाद भट्ट, राम सिंह धामी र हरसिंह धामीले सफाई पाउने ठहर्छ।

Leave a Reply

Your email address will not be published.