किशोरी निर्मला बलात्कार र हत्या केसमा पक्राउ परेका दिलिपसिंह विष्टलाई पक्राउ गरी यातना दिएको मुद्धामा अदालतले उदाहरणका रुपमा लिएको अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले एक केसमा माफि मागेको प्रशंगले अहिले मिडियामा प्रमुखता पाइरहेको छ। जुन रुपमा फैसलाको समाचारमा ओबामाको प्रशंग उल्लेख भइरहेको छ त्यसलाई भाइरलै भयो भन्दा नि फरक नपर्ला।
अदालतले यातना दिएको मुद्धा मनगढन्ते भन्दै प्रतिवादी बनाएका प्रहरीलाई सफाइ मात्र दिएन फैसलामै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ‘ केही वर्ष अगाडि अमेरिकामा २० वर्ष भन्दा बढि जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निर्दोष ठहर्याएपछि तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामाले सो मुद्धामा अध्ययन अनुसन्धानकोक्रममा गम्भिर त्रुटी भएको भनि राज्यको तर्फबाट सार्वजनिक रुपमा माफी मागेका कुरा सञ्चार माध्यमहरुमा देखिएको‘ ‘ उल्लेख गरेको थियो।
तथ्यहिन र मनगढन्ते कुराका आधारमा मुद्धा चलाएर प्रहरीको मनोबल गिराउने काम गरेको भन्दै फैसलामा दिलिपसिंहलाई यातना दिएको मुद्धाको अभियोजन गर्ने र अभियोजन गर्न निर्देशन दिनेले अमेरकी राष्ट्रपतिले गरेको व्यबहारको मनन र अनुसरण गर्न सक्नु पर्दछ भनिएको थियो।
फैसलामा आधारित समाचार यस अगाडि नै आएको थियो। तर पूर्ण पाठ पढेको थिइन्। शुक्रबार पूर्णपाठ पढ्दैजाँदा अदालतले लिएको ओबामाको उदाहरण रोचक लाग्यो। यो त्यो बेला अभियोजन गर्ने र गराउन लगाउनेका लागि बाध्यकारी आदेश त थिएन तर नैतिक प्रश्न भने पक्कै थियो। रोचक लागेकाले त्यही प्रशंग हाइलाइट गरेर शुक्रबार बेलुका ब्लग लेखेको थिए। आइतबार अधिकांश सञ्चारमाध्यमले ओबामा प्रशंगलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरे।
नागरिक दैनिकले अनुसन्धानकर्मी प्रहरीमाथि अन्याय, नेतृत्वले माफी माग्नुपर्ने शिर्षकमा प्रकाशित समाचारमा ‘कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या सम्बन्धमा अनुसन्धान गर्दा निलम्बन तथा बर्खास्त गरिएका प्रहरी अधिकारीलाई अन्याय भएकाले नेतृत्वले माफी माग्नुपर्ने फैसला भएको ‘ उल्लेख छ। फैसलाको आशय हेर्दा त ठिकै हो। तर फैसलामा माफि नै माग्न भनिएको छैन । ओबामाको उदाहरण दिएर मनोबल उच्च गराउने हो भने माफि माग्दा राम्रो भन्ने सुझाव हो। मनोबल बढाउनु छैन भने माफी बाध्यकारी हैन। नैतिक रुपमा हेर्ने हो भने अदालतले यती भन्नु नै काफी हो।

कान्तिपुरले निर्मला पन्त प्रकरण : ‘अफवाहको पछि लागेर प्रहरीविरुद्ध अभियोजन’ शिर्षकमा प्रकाशित समाचारमा ‘बजार हल्ला, तथ्यहीन प्रतिवेदन र पुष्टि नहुने झूटा एवं मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृतउपर अभियोजन गर्न निर्देशन दिनेले गल्ती गरेको ठम्याउँदै जिल्ला अदालतले सार्वजनिक रूपमा क्षमा माग्न सांकेतिक सुझाव दिएको छ । ‘तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले २० वर्षभन्दा बढी जेलमा रहेका आरोपित माथिल्लो अदालतबाट निर्दोष ठहर भएपछि अनुसन्धानमा त्रुटि भएको भनी सार्वजनिक रूपमा माफी मागेका थिए,’ फैसलामा भनिएको छ, ‘यो घटनामा पनि अभियोजन गर्न निर्देशन दिनेले ओबामाको व्यवहार मनन गर्नुपर्ने हुन्छ ’ लेखेको छ।

फैसलाको सुझाव सांकेतिकै हो।
कान्तिपुरमा किशोरी निर्मला घटनाको अनुसन्धानको अबको बाटो के हुनसक्छ भन्ने सबहेडलाइन राखेको सामाग्री समेटिएको छ जसमा ‘अदालतको फैसला आएसँगै अब प्रहरीले त्यसबेलै मुख्य आरोपित बनाइएका विष्टमाथि ततिम्बा बयान गर्न सक्छ’ भन्ने उल्लेख छ। समाचार अनुसार ‘अनुसन्धानका क्रममा पहिले पक्राउ परेर पछि प्रमाण खुले पक्राउ गरी फेरि बयान लिइने वा सरकारी वकिल कार्यालयमा दोहोर्याएर लिइने बयान प्रक्रिया नै ततिम्बा हो ।’
ततिम्बा बयानको प्रशंगान बिमती जनाउँदै निर्मला केसमा दिलिपसिंहको पैरवी गर्दै आएका पत्रकार खेम भण्डारीको चित्त दुखेछ। उनले आफ्नो अनलाइनमा कान्तिपुरका प्रकाशको नाममा खुला पत्रै लेखे ।
नेपाललाइभडटकमा निर्मला हत्या प्रकरणमा अदालतले भन्यो-बाराक ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन माफी नमाग्ने? शिर्षकको समाचारमा ‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग प्रहरी नेतृत्वले माफी माग्नु पर्ने जिल्ला अदालत कञ्चनपुर फैसला सुनाएको’ उल्लेख छ। समाचारको भाव फैसला निर्देशनात्मक झै देखिए पनि अदालतले सुझाव दिएको हो है।
यो समाचारमा पनि ओबामाको प्रशंगले महत्वपूर्ण स्थान पाएको छ।

काठमाडौंपाटीले शिर्षकै निर्मला हत्या प्रकरणबारे सर्वेन्द्रलाई अदालतते भन्योः निर्दोष प्रहरीसँग माफी माग्नू ! राखेको छ। फैसलामा अभियोजन गर्ने र निर्देशन दिने भन्ने उल्लेख भए पनि नामै किटिएको त छैन। सो समयमा प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल थिए। नेतृत्व भनेर जिल्लातहको हो या केन्द्र नखुलाइएकाले यसका आधारमा अदालतले दिएको सांकेतिक सुझाव खनालका लागि हो भन्दा गलतै भो भन्न मिल्ने आधार देखिदैन।

नेपालखवरडटकमले निर्मला पन्त घटनामा फसाइएका प्रहरीसँग बाराक ओबामाले जस्तै माफी माग्लान्? शिर्षकमा फिचर फर्म्याटमा समाचार लेखेर हेडलाइनमा प्रश्नात्मक जिज्ञासा राखिएको छ जसको आधार अदालतले उल्लेख गरेको ओबामाकै माफीनामा हो।

अदालतको आदेशको भाषा नैतिक सुझाव हो। नेपालमा अदालतले दिएको बाध्यकारी आदेश त पालना नगरे दण्डितै हुने अवस्था नआई कार्यान्वयन गर्न सकिन्न। नैतिक प्रश्नमै अभियोजन गर्ने जिल्ला तह र निर्देशनदिने माथिल्लोतहबाट माफिनामा त के आउँला । तर जे भए पनि अदालतले यातना केस लागेर निलम्बनमा बस्न बाध्य बनाइएका प्रहरी अधिकारीहरुलाई यति लेखेर भए पनि सान्त्वना भने दियो। अहिलेका लागि सान्त्वनानै ठुलो कुरा हो यो केसमा।
यो पनि