पाटन प्रदर्शनमा धन्न संयम् भए प्रहरी , नत्र नतिजा कर्फ्यू र पक्राउ मात्रै नहुनसक्थ्यो

काठमाडौं- करुणाको देवता मानिने रातो मछिन्द्रनाथको रथ जवर्जस्ती तान्न निस्किएका पाटनवासीले बिहीबार निक्कै क्रुर ब्यवहार प्रदर्शनगर्दै एक ट्राफिक प्रहरी कुटे। आक्रोश निधेधाज्ञाको उलंघन गर्दै जवर्जस्ती रथ तान्न निस्किएको समूहलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेको बल प्रयोगको थियो। तर पोखियो त्यो हस्तक्षेपमा कुनै सरोकारै नराख्ने ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि। जोसँग हतियारको नाममा एउटा सिठी मात्र हुन्छ। प्रहरीसँगको साइनो निलो बर्दी।

सार्वजनिक भएको भिडियोमा उनी केही गर्दैन भन्नेमा प्रदर्शनकारीप्रति विश्वस्त देखिन्छन् । हुन पनि बल प्रयोगमा उनको के नै भुमिका हुन्थ्यो र! र के भुमिका थियो । भिड नियन्त्रणमा खटिने मुख्यत दंगा नियन्त्रणको जिम्मेवारी बोक्ने नेपाल प्रहरी र नेपाल प्रहरीललाई सघाउने सशस्त्र प्रहरी थिए। म त ट्राफिक न हुँ के नै गर्ला र भनेर उनी भिडकै विचमा मोटरसाइकल लिएर आए। तर बन्दुक, अश्रृग्याँस र लाठी बोकेर भिड नियन्त्रणमा खटिएका प्रहरीको रिस जति उनले खेप्नुपर्यो। उनको विश्वास फेल खायो।

लात्ती र मुक्का मात्रै हैन काठका फलेक अनी ढुंगा केही छाडेनन् आक्रमणकारीले। निर्घात कुटे। लखेटी लखेटी कुटे। फ्लाइङ्ग किक हानेर ढलाए। केहीले जोगाउने प्रयास नगरेका हैनन्। तर सफल भएनन्।

निलो वर्दी लगाउने सबै प्रहरी हुन् भन्ने लागेछ क्यार प्रदर्शनकारीलाई। तर निलो पोशाक लगाउने सबैको जिम्मेवारी कहाँ एकै हुन्छ र। त्यही जिम्मेवारी फरक फरक हुने भएरै त प्रहरीमा जनपद प्रहरी, दंगा प्रहरी, ट्राफिक प्रहरी अनी प्राविधिक प्रहरी समूहमा विभाजन गरिएको हुन्छ।

रथ तान्न भेला भएका स्थानीय । तस्बिर: सेतोपाटी

प्राय यस्ता घटनामा प्रहरीले समेत आवेग गुमाउँदा अवस्था थप गम्भिर हुने गरेका घटना प्रशस्तै छन् । जव कुनै प्रहरी भिडबाट निघार्त कुटिन्छन् उनका सहकर्मीहरुको रगत उम्लन्छ र उनीहरु थप बल प्रयोगमा उत्रिन्छन्। जसले मानविय क्षती समेत हुने गरेका छन्।

कैलालीको टिकापुरमा भएको प्रदर्शनमा प्रहरीसँगै प्रदर्शनकारीले समेत संयमता गुमाउँदा एसएसपीसहितले ज्यान गुमाउन पुगेका थिए। त्यसको प्रारम्भ विरोध प्रदर्शनबाटै भएको थियो। स्थानीय उत्साहित र आक्रोशितहुँदा कस्तो गम्भिर परिणाम आउँछ भन्ने २०४६ को जनआन्दोलन सफल भएसँगै कालिमाटी क्षेत्रमा प्रहरीलाई नियन्त्रणमा लिएर कुटीकुटी हत्या गरी गाडामा राखेर घुमाएको क्रुर घटना साक्षी नै छ।

धन्न भिडले संयमता गुमाए पनि पाटनमा भिड नियन्त्रणका लागि खटिएका प्रहरीले धैर्यता गुमाएनन्। निहत्था ट्राफिक प्रहरी अस्पतालै भर्ना हुनुपर्ने गरी निघार्त कुटिँदा पनि उनीहरुले संयमता कायमै राख्दा प्रदशर्नकारीतर्फ घाइतेको संख्या बढेन। मुठभेड गम्भिर मोडतिर अगाडि बढेन।

ट्राफिक प्रहरी कुटिइसकेपछिको अवस्थामा प्रदर्शनकारी पनि केही हदसम्म संयम् भएकै हुन्। प्रदर्शन उग्र बन्दै गएको भए राज्यको तर्फबाट बल प्रयोगको मात्रा र विधी दुबै बदलिनसक्थ्यो। जसले प्रदर्शनकारीतर्फ क्षतिको प्रकार बढाउन सक्थ्यो।

किन कुटिइन्छन् प्रहरी ?

प्राय विरोध प्रदर्शनमा प्रदर्शनकारीबाट प्रहरी कुटिने गरेका हुन्छन्। यसमा प्रहरीप्रति भिडले हेर्ने मनस्थिति मुख्य कारण हो। प्रहरी भनेको राज्यको अंग हो। यसलाई हराउनु भनेको राज्यलाई हराउनु हो भन्ने मनोबलले अली बढि नै काम गर्छ कि जस्तो लाग्छ मलाई।

प्रहरी राज्यको महत्वपूर्ण अंग त हो। तर हरेक पटक परिचालन र बल प्रयोगको विधि प्रहरी नेतृत्वको स्विवेकमा आधारित नहुनसक्छ। मुख्य कुरा राज्य जुन चरित्रको छ प्रहरीको व्यवहार उस्तै हुन्छ। उदार राज्य भए प्रहरी पनि उदार देखिन्छ। निरंकुश राज्य भए प्रहरी पनि निरंकुशै हुन्छ। किनकी प्रहरी निर्देशन दिने हैन राज्यको निर्देशन पालना गर्ने निकाय हो। कहिलेकाँही क्षेत्रगत आधारमा प्रहरीको व्यवहारको आलोचना हुन्छ। त्यो राज्यको नीतिको प्रमाण हो। साहसी प्रहरी नेतृत्व भए केही हदसम्म परिचालनको मोडालिटी नेतृत्वको हातमा हुनसक्छ। नत्र सरकारमा जो छन् उसले जसरी चाह्ययो उसैगरि प्रहरी परिचालन गर्ने गरेको देखिन्छ।

प्रदर्शनकाक्रममा प्रहरीले गर्ने ब्यवहारका कारण पनि कुटिने वातावरण बन्ने गरेको देखिन्छ। भिडको मनोविज्ञान नहेरी हिरोगिरी देखाउन एक्लै अगाडि बढ्ने, भिडसँग कति दुरी कायम गर्ने, संवाद कसरी गर्ने भन्ने नबुझ्दा पनि प्रहरी भिडको कब्जामा पुगेर कुटिने मात्र हैन मारिएका पनि छन्। टिकापुरमा भएको क्षतिको एउटा कारण भिडसँगको संवादमा दुरी कायम गर्न हेलचेक्राई गर्नु पनि थियो।

अर्को प्रहरी पनि प्रदर्शनकारी झै बनेर ढुंगा हान्न थाल्छन्। त्यो पाटनको प्रदर्शनमा पनि देखियो। यसले दमनमा ब्यक्तिगत प्रतिष्पर्धा झै देखिएर पनि कुटपिटसम्मको दुखद घटना निम्त्याउनसक्छ। प्रदर्शनकारीको हिंसात्मक ब्यवहार अनी प्रहरीबाट हुने दमनबाट उत्पन्न हुने आक्रोशमा विवेक गुमाउँदा पनि दुखद घटना हुने गरेका छन्।

अस्पतालमा ट्राफिक प्रहरी

यस्तो हुन्छ प्रदर्शन नियन्त्रण विधी

भिड नियन्त्रण विधी अनुसार प्रारम्भमा भिडलाई सम्झाउने गरिन्छ। यसमा स्थानीय प्रशासन ऐनमा भएको प्रावधान र कोरोना संक्रमण फैलन नदिन स्थानीय प्रशासनले लगाएको निशेधाज्ञा माइक मार्फत सम्झाएको देखिन्छ।

दोस्रोमा भिडलाई जसले नेतृत्व गरेको छ उ सँग संवाद गरी संयोजनको प्रयास गरिन्छ। सार्वजनिक भएका समाचारहरु हेर्दा भिड स्वस्फुर्त रुपमा जम्मा भएकाले नेतृत्वकर्ता खुलेनन्। त्यसैले भिड नियन्त्रणमा खटिएका कमाण्डरले प्रदर्शनकारीको नेतृत्वसँग समन्वय संवाद गर्न पाएनन्।

यति गर्दा पनि भिड नियन्त्रणमा नआए पानीको फोहोरा हान्ने हो। त्यसका लागि वाटर केननको प्रयोग भएको देखियो पाटनको पर्दशर्नमा पनि। निरन्तर पानीको फोहरा हानेर भिड नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारीले ढुंगा र काठले आक्रमण गर्दा वाटर केनन नै पछाडि फर्कनु परेको देखियो। केही अगाडि त बढ्यो । तर वाटर केनन नै नियन्त्रण बाहिर जाँदा सडकको छेउँतिर पुगेर अडियो। सार्वजनिक भएका प्रदर्शनको दृष्य हेर्दा पानीको फोहरा नियन्त्रणका लागि भन्दा पनि जिस्काउन हानेझै देखिन्छ। पछि वाटर केनन नै नियन्त्रण बाहिर गएर सडक पेटीतिर झोस्सियो।

केही प्रदर्शनकारी वाटर क्याननमा ढुंगा र काठले हानिरहेका देखिन्थे। सहरी विरोध प्रदर्शन नियन्त्रणमा लिन वाटर क्यानन प्रभावकारी नै देखिन्थ्यो। पाटनमा भने पूर्ण रुपमा असफल भएको देखियो। यसले प्रदर्शनकारी विच्काउने काम मात्र गर्यो।

कहाँ भयो चुक !

प्रदर्शनकारी उग्र भएका मात्रै हैनन् पाटनमा भएको प्रदर्शनमा सुरक्षा निकायबाट धेरै चुक भएको देखिन्छ।

प्रारम्भमा निशेधाज्ञा उलंघन गर्दै रथ नजिक भेला हुने स्थानीयको संख्या सानो थियो। संख्या बढ्न नदिन पहिल्यै उनीहरुलाई सम्झाएर पठाउने या नियन्त्रणमा लिने गर्न सकिन्थ्यो। त्यतातिर त्यति ध्यान दिएको देखिएन।

विरोध प्रदर्शनको कारण र प्रदर्शनकारीको मनोविज्ञान हेरेर सम्भावित जोखिम, जोखिम कम गर्ने उपाय र रणनीतिको तयारी हुनुपर्नेमा यी तीनै पक्षमा कमजोर देखिए सुरक्षा संगठनका सदस्य। प्रदर्शनकारीको मनोविज्ञान कोरोनामा निरन्तर भएको बन्दले निम्त्याएको उकुसुमुकुससँगै धार्मिक आस्था र विश्वास समेत जोडिएको हुनसक्थ्यो।

उकुसमुकुस हटाउने उपाय प्रहरीसँग हुँदैन। तर धार्मिक आस्था र विश्वासले जो रथ तान्न आएका छन् उनीहरुलाई सम्बन्धीत गुठी या रथका पुजारी मार्फत सम्झाउन सकिन्थ्यो। तर प्रहरी भिडलाई कोरोनाको जोखिम मात्र सम्झाएर बस्यो। धार्मिक विश्वासका कारण रथ अलपत्र पर्ने भयो भनेर चिन्तित समुदाय कोरोनासँग डराएनन्। उल्टो प्रहरीलाई सामाजिक दुरी खै भन्न थाले।

क्षेत्रगत आधारमा समेत प्रदर्शनकारीको उपस्थिती र जोखिम आँकलन गर्न सकिन्छ। त्यसकै आधारमा सुरक्षा जनशक्तिको व्यवस्थापन गर्न सकिन्छ। पाटन क्षेत्रमा मछिन्द्रनाथको रथ तान्ने विषयमा विरोधहुँदा पनि प्रदर्शनको स्तर आँकलन गर्न सकिएको देखिएन। नत्र ब्यारिकेटहरुको पक्कै प्रयोग हुनसक्थ्यो। जुन थिएन।

सुरक्षा निकाय पछाडि हट्दा या उसले प्रयोग गरेको कुनै रणनीति असफलहुँदा प्रदर्शनकारीको मनोबल बढ्छ। वाटर क्यानन निष्कृय भएपछि प्रदर्शनकारीको मनोबल बढेको देखियो। अनी प्रहरीले अश्रृग्याँस र लाठीको प्रयोग गरेको देखियो। यसपछिको अवस्था भनेको हवाई फायर र त्यसले पनि नभए घुँडामुनी गोली प्रहार हो। तर प्रहरी अश्रृग्याँसभन्दा अगाडिको चरणमा गएन। यो नै सुखद पक्ष भयो।

प्रशासन रमिते मात्र

हुन त अहिले नेपाल संघियतामा गइसक्यो । तर संघियतामा गए पनि अहिले स्थानीय शान्ती सुरक्षाको नेतृत्व जिल्लाको प्रमुख जिल्ला अधिकारीको हातमा छ। भिड नियन्त्रणको विधी प्रमुख जिल्ला अधिकारीको निर्देशनमा हुने हो।

पाटनको प्रदर्शनको प्रारम्भमा स्थानीय प्रशासन र प्रहरी नेतृत्व त्यति गम्भिर भएको देखिएन। यस अगाडि पाटन क्षेत्रमा भएका प्रदर्शन र रातो मछिन्द्रनाथसँग पाटनवासीको गाँसिएको धार्मिक सम्बन्धको त्यति लेखाजोखा गरेको देखिएन।

दुई महिनादेखि रथ रोकिएको अनी सम्बन्धित गुठीबाट रथ तान्ने उपायहरु सुझाउँदा समेत वास्ता नगरेका कारण समेत बिहीबारको घटना निम्तिएको हो। धार्मिक आस्थाको बेवास्था भएकै हो। जसले प्रदर्शनसम्म पूर्यायो स्थानीयलाई।

प्रदर्शन उग्र भएपछि मात्रै स्थानीय प्रशासन गम्भिर भएको देखियो। जव जवर्जस्ती रथ तान्ने भनेर केही युवा भेला भएका थिए त्यही बेला रथयात्रासँग जोडिएका धार्मिक संस्था र गुठीयारहरुसँग समन्वय गरेर वार्तामार्फत समाधान निकाल्न पहल गर्दै तत्काल सोही अनुसारको सन्देश प्रदर्शन स्थलमा प्रवाह भएको भए कोरोनाको महामारीका विच पाटनको सडक आज रणभुमी नबन्न सक्थ्यो।  र अवस्था कर्फ्यूसम्म जानुपर्ने अवस्था नआउँनसक्थ्यो।

जव प्रदर्शन भयो रथ व्यवस्थापनको उपाय पनि आयो क्षमा पुजा अनी बाँकी विधि अहिले रथ भएकै स्थानमा गरेर साइत अनुसार रातो मछिन्द्रनाथलाई बुंगमती लैजाने।

Leave a Reply

Your email address will not be published.