- केपी ढुंगाना
कुनै आपराधिक घटना सतहमा जे देखिन्छ त्यो त्यस्तै हुन्छन् भन्ने हुन्न। अनुसन्धानमा देखिएको भनेर जे सार्वजनिक भएका हुन्छन् त्यसका भित्री पाटाहरु फरक पनि हुन्छन्। प्राय संगठित अपराधिक घटनामा सार्वजनिक हुने कारक र कारण मात्रै हैन उदेश्य समेत फरक देखिन सक्छन्। अझ अपराधको प्रकृति अन्तराष्ट्रिय छ र त्यसमा भारत जोडिन्छ भने त तन्तुहरु कता कता गएर बल्झन्छन् । घटनाको जुन कारण हुन्छ त्यो सतहमा नआइ रहस्यमय नै रहन्छन्।
केन्द्रिय कारागारमा कैद रहेको बेलामा युनुस अन्सारीको हत्या प्रयासको घटना होस् या सरकारले खुब हल्ला गरेको ३५ किलो सुन तस्करी र त्यसको अनुसन्धानमा गठन भएको उच्चस्तरिय समितिको निष्कर्ष होस् यी दुबै घटनामा जे जे सार्वजनिक भए ती अपुरा थिए। घटनाको कारक र कारण र संलग्नहरुको नामावली सार्वजनिक भएका भन्दा भिन्न थिए।
किशोरी निर्मलाको बलात्कार र हत्याको घटनाको कारक र कारणमा भएको झेलीखेलले अहिलेसम्म त्यो घटना सुल्झन सकेको छैन।
काठमाडौंको सुन्धारा र प्रहरीको डेरामा गरी बरामद भएको १६ किलो नक्कली सुन र २ वटा हतियारको घटनाबारे पनि यस्तै रहस्यमय बन्दै गइरहेको छ। यो घटनाबारे सार्वजनिक भएका विवरण, दावी र घटनाक्रमका संगति मिल्न नसक्नुका कारण घटनाको कारक र कारण प्रष्ट हुन नसक्नु केवल पात्रहरु मात्र सार्वजनिक हुनु नै हो ।
प्रहरीको भनाइका आधारमा सार्वजनिक भएको विवरण अनुसार एक समुहले कोही व्यापारीसँग सुनको डिल गर्यो। तर जसले डिल गरेको हो उसको मनमा पाप पलायो र छक्याउन नक्कली सुन बनाएर प्रहरीसँगै मिलेर लुटाए। यति नै हो सतहमा आएका विषय। समाचारहरु यीनै प्लटको वरिपरी घुमिरहेका छन्।
घटनामा जोडिएका पात्र इल्ताफ हुसेन अन्सारी नक्कली भारतीय रुपैंयाको कारोबारमा सक्रिय रहेकाले भारतीय खुफिया एजेन्सी अनी पाकिस्तानी खुफिया र अन्डरवल्ड डन दाउद इब्राहिम पनि मिसिएका छन् केही समाचारमा। तर प्रहरीले औपचारिक रुपमा भने अन्तराष्ट्रिय सम्बन्धहरु जोडेर सार्वजनिक गरेको छैन। उ नक्कली सुन कहाँ बन्यो, को-को संलग्न थिए र उनीहरुको भुमिका के थियो भन्नेमै बढि केन्द्रित देखिएका छन्।
नक्कली सुनको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दीपक थापाका अनुसार इल्ताफको पक्राउपछि लगभग अनुसन्धान निचोडमा पुगिसकेको छ। एक जना भारतीय नागरिक बाहेक बाँकी सबै पक्राउ परिसकेका छन्। गाडि धनी र सुन बोक्ने गाडि चलाएका भनिएका इल्ताफको पक्राउपछि उनी सो गाडिमा रहेको पुष्टी भएको छ। यसले अनुसन्धान निष्कर्षमा पुगेको छ।
बरामद भएको सुनको जलप लगाएको चाँदी र हतियार
उनको अनुसार ठगीको योजना सहित नक्कली सुन बनाइयो। विचमा लुट्ने योजना बन्यो र केही प्रहरी यो घटनामा प्रयोग भयो। नक्कली सुन नेपालमै बनाइएको थियो। उनीहरुले योजना कार्यान्वयन गर्नेक्रममा प्रहरीमा यो केस आइपुग्यो र रणनीति पूर्ण रुपमा कार्यान्वयन भएन। यति हो।
अपत्यारिलो घटना श्रृंखला

चुहिएका प्रहरीको अनुसन्धान विवरण अनुसार यो प्रकरणका नाइके हुन् कुख्यात जाली नोट कारोबारमा सक्रिय इल्ताफ हुसेन अन्सारी अनी भारतीय चलचित्र निर्माता निलेश सखिया।
अहिलेसम्म आएका दावी अनुसार गुजरातका सञ्जय पटेललाई सुन दिन यी सबै प्रकरण रचियो। इल्ताफ र निलेशको मनमा पाप पलायो। उनीहरुले सञ्जयलाई सक्कली सुनको साटो नक्कली सुन दिने योजना बनाए। यसका लागि गुजरातका कौशल र देवानसिंह पटेललाई जिम्मा दिए । त्यही अनुसार उनीहरुले चाँदीमा सुनको लेप लगाएर दिए।
उनलाइ सुन दिन भारतबाट काठमाडौंमा बोलाए। उनी असार अन्तिम साता निलेशसँग नेपाल आएर कमलपोखरीमा रहेको एक अपार्टमेन्टमा बसे। निलेशले नक्कली सुनको पोल खुल्ला भनेर प्रहरीबाट लुटाउने योजना बनाए र १५ लाख प्रस्ताव गरे।
योजना अनुसार साउन १३ मा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठ मिसिए। १३ गते बिहानै सुन लिएर बा६च ५५१९ नम्बरको स्कोर्पियो निस्कियो। सुन्धारा आकाशे पुलनजिकै निलेशले दुबै प्रहरीलाई नक्कली सुन भएको झोला दिए। झोलामा सुनको जलप लगाएको साढे १५ केजी चाँदीसँगै ५ सय ग्राम सुन र २ थान पेस्तोल पनि थियो। सबै भागे।
गाडि नखिपोटमा छाडेर भागेका निलेश, देवानसिंह र विजय पटेल पूर्वी नवलपरासीको दुम्कीबासमा पक्राउ परे। पछि इल्ताफ बारामा पक्राउ परे। सञ्जय फरार छन्। अहिलेसम्म सार्वजनिक भएको घटना विवरण यही हो।
सुन तस्करी संगठित अपराध र यो घटनाक्रम पनि संगठितै देखियो। संलग्नहरु पनि जाली भारतीय रुपैंयाको कारोबारमा कहलिएका । तर यो घटनाक्रम चै पहिलो पटक अपराधको प्रयास गरेकाहरुको जस्तो। घटनामा संलग्नहरु हेर्यो अपराधको प्रकृती नै नमिल्ने। घटनाक्रम हेर्यो संगठित अपराधमा अपनाउने शैली नै नमिल्ने । खै के खै के पाराको।
अझै धमिलै छ अनुसन्धान
यो प्रकरण यस्तै हो त ? सँगठित अपराध अनी नक्कली भारतीय रुपैंयाको कारोबारको अनुसन्धानका अनुभवी केही बहालवाला केही अवकासप्राप्त प्रहरी अधिकारीहरुसँग कुरागर्दा उनीहरु पनि घटनाक्रम, संलग्नहरुको र पृष्ठभुमी अनी सार्वजनिक भएका विवरणप्रति विश्वस्त देखिएनन्। प्रहरीका दावी र सार्वजनिक भएका विवरण पनि श्रृंखला मिलेका छैनन्। कन्फ्युज छन् विवरणहरु । कन्फ्युज विवरण हुनुको कारण अनुसन्धान धमिलो हुनु नै हो।
अहिले जो जो पक्राउ परेका छन् भुमिकाका आधारमा उनीहरु सुन विक्री गर्ने, डिल गर्ने समूहका सदस्य र सुन लुटेको नक्कली नाटक मञ्चन गर्न सघाउने प्रहरी हुन्। उनीहरुले १६ किलो सुन कसलाई दिने डिल गरेका थिए? डिल भए अनुसारको सक्कली सुन ल्याएका थिए या थिएनन्? अनी उनीहरुले सुन डिल वापत कति रकम ठगी गरे भन्ने पक्ष भने अझै खुलिसकेको छैन।
सक्कली सुन पचाउन नक्कली सुन बनाउँदा अनी काठमाडौंसम्म ल्याउँदा र प्रहरीसँग मिलेर लुटको रणनीति बनाउँदाका घटनाक्रम त्यति पत्यारिलो देखिएको छैन। यसको अनुसन्धामा यस्ता प्रश्नहरु देखिएका छन् जसको उत्तरले मात्र धमिलो बनेको यो घटना केही सङ्लो हुनसक्छ। नत्र सक्कली सुन भनेर नक्कली सुन दिएर ठगि गर्न रचिएको अपराधको सामान्य कोटीका रुपमा अपराधको अनुसन्धान टुंगिन्छ। तर यसमा संलग्नहरु र घटनाक्रमले यो सामान्य रुपमा ठगिका लागि रचिएको ब्यहु मात्र हो भन्ने देखिन्न।
धमिलिएको अनुसन्धान सङ्लो बनाउन यी प्रश्नको उत्तर आवश्यक छ।
जुन समयमा भारत गुजरातबाट सञ्जय र निलेश नेपाल आएको दावी गरिएको थियो त्यो बेलामा नेपाल र भारत दुबैतिर लकडाउन थियो। नेपाली सिमा सिल थियो। स्थल र हवाइमार्ग बन्द । यो अवस्थामा यी दुबै कसरी नेपाल आए र काठमाडौं भित्रिए ? अहिलेसम्म यो प्रष्ट हुन सकेको छैन। केवल सामान्य समय झै आए र गए झै मात्र दावी आइरहेका छन्।
सामान्य अवस्थामा समेत काठमाडौंबाट १६ किलो सुन बोकेर सहजै भारत प्रवेश गर्न सकिन्न। जुन समयमा सञ्जय सुन लिएर भारत लैजान काठमाडौं आएको भनिएको छ त्यो बेला कडा लकडाउन थियो। सवारीसाधन आवतजावतमै समस्या थियो। यस्तो बेलामा सुन सहजै भारत पूर्याउन सकिने अवस्थै थिएन। यस्तो अवस्थामा के आधारमा उनी सुन लिन काठमाडौं आए ? काठमाडौंबाट सुन लिएर भारत पूर्याउने रणनीति र तयारी के थियो? किनकी संगठित अपराधको योजना बनाउँदा एक पक्षिय रणनीति मात्र बन्दैन। कहाँ जाने? कसरी अपराध सम्पन्न गर्ने अनी कसरी सुरिक्षत रुपमा बाहिरिने तीनै तहको योजना बनेको हुन्छ नै। यसमा एक तहको मात्र योजना देखिएको छ। जुन सम्भवै छैन।
इल्ताफ हुसने अन्सारी
सुन नक्कली नै बनाउनु थियो भने तामा या पित्तलको पनि प्रयोग गर्न सकिन्थ्यो । तर उनीहरुले अन्य सस्तो धातुको प्रयोग नगरी चाँदीको प्रयोग गरेर ५८ लाख किन जोखिममा पारे ? यसको चित्त बुझ्दो कारण पक्राउ परेकाहरुको बयानबाट समेत खुलाउन सकेको देखिएन।
प्रहरीले सुन बरामद गरेको अवस्थामा सुन नक्कली भएको खुल्थ्यो नै । त्यो बेलामा जसले सक्कली सून किन्न पैसा दिएका थिए उनले पनि चाल पाउँथे नै । सक्कली सुन भनेर नक्कली सुन लुटाएकै आधारमा सञ्जय सुन लुटियो भनेर विश्वस्त हुन सक्ने आधार समेत देखिन्न। प्रहरीको दावी अनुसार यो समूह सुन तस्करीका पटके हुन्। पटके तस्करले आफ्नो धन्दामा विश्वासै चौपट हुने योजना बनाउँदैनन्। एक पटक अपराध गर्ने अनी चुपचाप बस्नेले मात्र हो यस्तो योजना बनाउने।
यो प्रकरणलाई रहस्यमय बनाउने अर्को पक्ष हो पेस्तोल। ब्यक्तिगत सुरक्षाका लागि पेस्तोल बोकेको हो भने पक्राउ आरोपीको साथमा हतियार हुनुपर्ने हो। तर हतियार नक्कली सुनकै झोलामा थियो। हतियारै भएको झोला प्रहरीलाई दिएर भाग्नुनै उदेक लाग्दो छ। नक्कली सुनको झोलामा अलीकति सक्कली सुन पनि राखिएको छ। यसले यो घटनाको उदेश्य सक्कली भनेर नक्कली सुन भिडाएर ठगि गर्ने भन्दा पनि यसमा नाम जोडिनेमध्येका कसैलाई नक्कली सुनसँगै सक्कली सुनको तस्करी अनी अबैध हतियारको अभियोगमा समेत तानेर जेल पूर्याउने लक्ष्य नै हैन ?
अपराध रणनीति बनाउनेले पक्राउ परेको खण्डमा कम भन्दा कम सजाय हुनेगरी रणनीति बनाएको हुन्छ। बलिया कानुनहरु आकर्शित हुने प्रमाण साथमा राख्दैनन् या छाड्दैनन्। नक्कली सुनको झोलामा २ वटा पोस्तोल राखेर दिनु भनेको यसमा जोडिनेमाथि अबैध हातहतियारको मुद्धा पनि जोडियोस् भन्ने लक्ष्य हुनसक्छ। किनकी सुन तस्करीभन्दा अबैध हतियारको मुद्धा बलियो छ र यसमा धरौटी समेत निस्कदैन। सुनमा बरामद सामानको मुल्य बराबरको धरौटी राखेर पनि निस्कन सकिन्छ।
यो घटनामा जोडिएकाहरुमा यो प्रकरण कुनै न कुनै रुपमा प्रहरीसम्ममा पुगोस् भन्ने चाहेको देखिन्छ। यसले पनि यो प्रकरणको उदेश्य सुन ठगीको रुपमा जसरी सार्वजनिक भएका छन् त्यो हैन भन्ने प्रशस्त संकेतहरु छाडेका छन्।
त्यसैले १६ किलो नक्कली सुनको अनुसन्धान अझै धमिलो नै छ। र यी प्रश्न र आशंकाहरु नहटेसम्म सङ्लिन सक्नेछैन। इल्ताफको पक्राउपछि यी प्रश्न र आशंका हटाउने प्रयास हुन सक्ला कि !
सम्बन्धित
प्रहरीको सहयोगमा फैलिएको इल्ताफको अपराध साम्राज्य
१५ किलो नक्कली सुनमा जोडिएका त्रिपल एजेन्ट इल्ताफ पर्सामा समातिए
नक्कली सुन प्रकरण : प्रहरीलाई सुन फाप्दैन, तै पनि चेत्दैनन् !