नाम र उपनामको खेलमा अदालतमा हुने झेल

  • केपी ढु‌ंगाना

१६ किलो नक्कली सुन र अबैध हतियारको कारोबारमा नाम र उपनामको रोचक खेल सार्वजनिक भयो। प्रहरीको सूचीमा इल्ताफ हुसेन अन्सारी र अल्ताफ हुसेन अन्सारी एकै भए पनि अदालतले भने यी दुबै अलग हुन् भन्ने आदेश दिँदा अल्ताफको रुपमा जेल परेका अल्ताफ इल्ताफको रुपमा निर्दोश बनेर जेलमुक्त भए।

प्रहरीका अनुसार इल्ताफ र अल्ताफ एकै हुन्। तर सर्वोच्च अदालतले यो मानेन। २०६६ कात्तिक २० मा ललितपुरको कुपन्डोलमा शेखसफि अहमको डेरामा  फेला परेको ५४ लाख जालीको केसमा जोडिएर फरार भएकाको नाम अल्ताफ लेखियो।

जिल्ला अदालत ललितपुरले २०६७ जेठ २६ मा शेख सफी अहमद र अल्ताफलाई ३ वर्ष कैद र २ करोड ६१ लाख रुपैयाँ जरिवाना हुने ठहर पनि भयो। शेखसफी जाली भारु फेला परेकै दिन पक्राउ परेकाले उनी सिधै कारगार गए। अल्ताफ भने फरार थिए।

उनी फरार रहेकै बेलामा यो प्रकरणबाट उन्मुक्ती हुने दाउँमा थिए। २०७२ जेठ ३० मा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई ललितपुरमा पक्राउ गरेर कैद भुक्तानका लागि कारागार पठायो। उनी नक्खु कारागार गए।

उनी भने आफु इल्ताफ भएको तर प्रहरीले अल्ताफ भएको दावी गरेर जेल हालेको भन्दै उनी सर्वोच्च पुग्यो। र सर्वोच्चले जिल्ला अदालतको फैसलामा अल्ताफ हुसेन अन्सारी उल्लेख भएको तर जेल हालेको ब्यक्तीको नागरिकता इल्ताफ हुसेन अन्सारी भएको भन्दै उनलाई रिहा गर्न आदेश दियो।

रमाइलो के भने अदालतले जसलाई अल्ताफ हैन इल्ताफ हो भनेर जाली भारुको कारोबारमा तोकेको कैदबाट मुक्त गर्यो त्यो बेला उनले ३ वर्ष कैद सजाय भोगी सकेका थिए। बाँकी थियो २ करोड ६१ लाख जरिवाना तिर्ने। अदालतले अब उनलाई अल्ताफ हैन भनिदिएपछि यो जरिवाना भने तिर्न परेन।

इल्ताफ र अल्ताफ एकैे भएको प्रहरी प्रतिवेदन

तर अल्ताफ पनि उनी नै थिए, इल्ताफ पनि उनी नै थिए। अल्ताफ उनको धन्दाको नाम इल्ताफ कानुनी नाम। प्रहरीले अनुसन्धान गर्दा उनको कानुनी नामको साटो धन्दाको नाम राखेर प्रतिवेदन बुझायो। जसमा बाउ, आमाको नाम राखिदिएन। जिल्लाले त्यसैको आधारमा अल्ताफको नाममा कैद र जरिवाना तोकिदियो।

चलाख इल्ताफले यसैमा खेले। बस्नुपर्ने कैद बसिसकेका थिए। कुरा रह्ययो जरिवानाको। जरिवाना तिर्न नपर्ने गरी इल्ताफ र अल्ताफ फरक हुन् भनेर सर्वोच्चले मोहर लगाइदियो। अनी अल्ताफ इल्ताफ बनेर जाली भारुको कारोबारीमा सफाई मात्र पाएनन्। साढे २ करोड पनि जोगियो।

यस अगाडि उनी पक्राउ परेका घटनामा लिएको बयानमा उनले आफ्नो नाम अल्ताफ पनि भएको स्विकारेका थिए। अनी जाली भारु फेला परेको डेरावाल सेखसफिबाट अल्ताफ र इल्ताफ एकै हो भन्ने सनाखत नि भएको थियो। तर पक्राउपछि सनाखत गराएर भनेर अदालतले स्विकार गरिदिएन। अहिले अल्ताफ उर्फ, मुन्ना खान उर्फ सलरुल अन्सारी उर्फ इल्ताफ हुसेन अन्सारीलाई जाली भारुको कारोबारी भनेर लेखिए पनि सर्वोच्चका अनुसार उनी जाली भारुका कारोबारी हैनन्। उपनाम र नामको गजवको खेल भएन त ।

इल्ताफको बयान

नाम-उपनामको खेल

प्रहरीको कमजोरी भनौं या जानजान गरेको अपराध भनौं उपनाम र नाममा खेलेर अदालतले उही ब्यक्तीलाई उ हैन भनेको यो पहिलो घटना भने हैन है। सर्वोच्च अदालतमै यसको सफल अभ्यास  २०६५ मै भएको थियो।

त्यो घटना इल्ताफ र अल्ताफको भन्दा पनि रोचक छ।

कुटपिट गरेको भन्दै तत्कालिन दरवारका निकट अभिशेख विक्रम शाहले दीपक मनाङ्गेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हालेको सार्वजनिक मुद्धामा उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय भएको थियो। सार्वजनिक अपराधमा यत्रो कैद सजाय विरलै हुन्छ।

२०६४ कात्तिक १३ मा सजायको आदेश भए पनि मनाङ्गे पक्राउ परेका थिएनन्। उनी एक वर्षपछि २०६५।४।२४ मा  पक्राउ परे र कैद सजाय भुक्तान गराउन डिल्लीबजार कारागार चलान भए।

एकाएक २०६५ भदौं ११ गते मनाङ्गे जेल मुक्त भए। पक्राउ परेको एकै महिनामा कसरी छुटे भनेर खोजी गर्दा  सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले दीपक मनाङ्गेलाई दीपक मनाङ्गे हैन भनेर रिहा गर्न आदेश दिएको रहेछ। अदालतको त्यही आदेशमा आफु दीपक मनाङ्गे हैन भन्दै डिल्लीबजार जेलबाट मनाङ्गे रिहा भएका थिए।

प्रहरीमा रहेको मनाङ्गे को प्रोफाइल

यसमा पनि उही अल्ताफ कि इल्ताफ कै सुत्र प्रयोग भएको थियो। आपराधिक दुनियामा दीपक मनाङ्गेका रुपमा परिचित उनी साथीभाईमाझ दीपक गुरुङ्गका रुपमा परिचित थिए। मनाङ्गबाट आएको भनेर उनको नामको पछाडि मनाङ्गे जोडिएपछि उनी दीपक गुरुङ्गबाट दीपक मनाङ्गे बने।

तर उनको कानुनी नाम  दीपक गुरुङ्ग पनि हैन रहेछ। राजीव गुरुङ्ग पो रहेछ।

प्रहरीले उनीविरुद्ध प्रतिवेदन बनाउँदा र जिल्ला प्रशासन कार्यालयबाट आदेश आउँदा दीपक मनाङ्गे भनिने दीपक गुरुङ् भनिएको रहेछ।

जव उनी जेल परे चतुर वकिल समूहले कमजोरी पहिल्याएर डिल्लिबजार कारागारमा दीपक गुरुङ्ग भनेर जसलाई थुनिएको छ उ दीपक गुरुङ्ग नभई राजीव गुरुङ्ग भएकाले निर्दोषलाई थुनामुक्त गराइपाउँ भनेर बहस गरे। नागरिकता पेश गरे। हो पनि उनी त राजीव गुरुङ्ग पो हुन्। सजाय आदेशमा त उनको नाम छैन।

अनी सर्वोच्चले दीपक मनाङ्गे उर्फ दीपक गुरुङ्ग भनेर जेलमा राखेको राजीव गुरुङ्ग भएकाले तत्काल छाड्नु भन्ने आदेश आयो। आदेश जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्था विभागहुँदै डिल्लीबजार जेल प्रशासनमा पुग्यो। अनी दीपक मनाङ्गे उर्फ दीपक गुरुङ्ग राजीव गुरुङ् बनेर कारागार मुक्त भए।

जो ब्यक्ती हैन भनेर अदालतले आदेश दियो रिहा हुने ब्यक्ति त उही भएको पोल खुलेपछि हंगामा भयो। घानमा चै जेलर मात्र परे। रातारात मनाङ्गेको नाममा पक्राउ आदेश जारी भयो। तर उनी भागिसकेका थिए। उनी फरार रहेकै बेला नयाँ पत्रिकाका लागि उनको अन्तर्वार्ता लिएको थिए जसमा उनले त्यो बेला दरवार मिलेर आफुलाई फसाएर र अन्याय विरुद्ध लड्दा प्रहरीले दुश्मनी लिएको दावी गरेका थिए। ‘मैले पुलिस र आर्मी बाहेक अन्य लाई कुटेको छैन’ भन्ने शिर्षकमा अन्तर्वार्ता प्रकाशित भएको थियो। फरार भएको २ महिनापछि उनी पक्राउ परे।

जसले मनाङ्गेलाई मनाङ्गे हैन भनेर रिट हालेर मुक्त गराए नि उनीहरुको नियत उसलाई अपराधबाट मुक्त गराउने भन्दा पनि न्यायलयको नाडि छाम्ने देखिएको थियो। जसमा उनीहरु सफल भए।

इल्ताफको केसमा फेरी उही थ्यौरी सफल भयो। यो त अली हाइप्रोफाइल केस भएकाले बाहिर आयो। यसरी जो ब्यक्ती को उही हैन भनेर कतिले उन्मुक्ती पाएका होलान्।

यो नै लामै भएछ। अर्को श्रृंखलामा आपराधिक धन्दामा लागेकाहरुको उपनाम कसरी जुर्छ भनेर लेख्ने छु है।

Leave a Reply

Your email address will not be published.