इस्लामिक विद्रोही समूह अल- सबाबमा नेपाली कमाण्डर को रैछन् ! सरकारी निकायलाई थाहा छैन

करिव २ महिना अगाडि अन्तराष्ट्रिय मिडियाहुँदै नेपाली मिडियामा एउटा सनसनिखेज समाचार आयो’ सोमालियाको विद्रोही समूहका कमाण्डर सरकारी सेनाको कारवाहीमा मारिए। उनी नेपाली नागरिक हुन्।’

२०२० जुन २६ को समाचार आफैंमा संवेदनशिल थियो नै। केही देशका अपराधमा नेपाली नागरिकको संलग्नता खुले पनि अर्को देशको इस्लामिक विद्रोही समूहमा संलग्न भएको मात्रै हैन कमाण्डर समेत भइसकेको र मुख्य प्रशिक्षकको हैसियतमा पुगेको दावी अपत्यारिलो थियो।

अपत्यारिलो समाचार पत्यारिलो अन्तराष्ट्रिय समाचार वायरबाट आएको थियो। सोमालियाको सरकारी रेडियोलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्स र सिन्ह्वाले सम्प्रेशण गरेको समाचारमा सोमालियाको सैन्य कारवाहीमा जुबामा असरफ अज्मी अबु हमदान मारिएको र उनी अल सबाबका कमाण्डर रहेको उल्लेख मात्र थिएन उनी नेपालबाट गएको र सो इस्लामिक विद्रोही समूहका वरिष्ठ सैन्य प्रशिक्षक समेत रहेको दावी गरिएको थियो।

रोयटर्स जत्तिको विश्वासिलो एजेन्सीले समाचार सम्प्रेशण गरेपछि यसले नेपालसँगै विश्वका प्रमुख सञ्चारमाध्यममा स्थान पायो। नेपाली नागरिक पनि इस्लामिक विद्रोही समूहमा संलग्न रहेको सन्देश विश्वभर फैलियो।

यो समाचारको मुख्य स्रोत सरकारी रेडियोबाट प्रशारित समाचार नै थियो। अफ्रिकान्युजडटकम लगायतकाले समेत समाचार प्रकाशन गरेका थिए। तीनका आधार पनि कि एजेन्सी र कि सरकारी रेडियो मात्रै थियो।

समाचारहरुमा दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा भएको कारबाहीमा मारिएको र हमलामा कमान्डर हमदानसँगै अन्य तीनजना लडाकु पनि मारिएको उल्लेख थियो।

कुनै सरकारी अधिकारीको कोड थिएन। अनी मारिएका भनिएका नेपाली नागरिकबारे थप केही उल्लेख थिएन। उल्लेख थियो त नाम र उनी नेपालका हुन् भन्ने मात्र। उनको तस्बिर कतै सार्वजनिक भएन।

विद्रोही समूहमा नेपाली नागरिकको संलग्नताको दावी आएपछि यसबारे खोजी गर्न नेपालको सुरक्षा एजेन्सीले चासो देखाएका थिए। अनुसन्धानको उपलब्धी के भयो त्यो भने सार्वजनिक भएन।

यसबारे चासो राख्दा प्रहरी प्रधान कार्यालयको आतंकवादको अनुसन्धान गर्ने निकायलाई यसको अनुसन्धानको जिम्मा दिएको हेडक्वाटरका एक अधिकारीले सूचना दिए। २ महिनापछि अनुसन्धानले केही आकार लियो कि भनेर चासो  राखेको अवस्था मारिएका नेपाली हुन् या हैन भन्नेबाट अगाडि बढ्नै सकेको रहेनछ।

यसबारे केही जानकारी भएका एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानमा सोमालियाको सरकारले नै कुनै सहयोग गरेको छैन। मारिएका भनिएका नेपालीको विवरण माग्दा समेत आइसकेको छैन। तस्बिर समेत पठाएका छैनन्।

यही नाम गरेका कोही नेपाली हराएको या वेपत्ता भएको वा अन्य केही विषयबारे प्रहरीमा उजुरी परेको थियो कि भनेर  खोज्दा पनि केही फेला परेको छैन।

यसले कतै यो दावी नै गलत त हैन भन्ने आशंका बढेको रहेछ।

कतै इस्लामिक विद्रोही समूहका सदस्यले नेपाली पासपोर्ट प्रयोग पो गरेका थिए कि भन्ने पक्ष पनि छ नै । कतिपय घटनामा गैर नेपालीले नेपाली पासपोर्ट प्रयोग गरेको भेटिएका थिए। यो आशंका मेट्न सरकारी सेनाले मारेका भनिएकाको पहिचान खुल्न सक्ने कागजपत्र या तस्बिर माग्दा समेत कुनै रेस्पोन्स भएको रहेनछ।

यो घटनाको सबैभन्दा ठुलो शंका चै मारिएका भनिएका कमाण्डरको तस्बिर समेत सार्वजनिक नहुनु नै हो। अनी के आधारमा उनी नेपाल  नागरिक भनिएको हो त्यो पनि अहिलेसम्म कतै खुलेको छैन।

अनुसन्धानको गति र अनुसन्धानमा सोमालियाको व्यवहारले यो रहस्य खुल्ला जस्तो देखिएन।

के हो अल सबाब

इस्लामिक कानुन लागु गराउने भन्दै विद्रोह शुरु गरेको इस्लामिक समूह अल सबाब सन् २००८ बाट सक्रिय भएको थियो। यसको प्रभाव सोमालिया र केन्यामा बढि देखियो। यो सोमालियामा गठन भएको विद्रोह समूह भए पनि यसले केन्यामा पनि आक्रमण गरिरहन्छ। यसको कारण चै अल सबाबसँग लड्न सन् २०११ मा केन्याले सोमालियालाई सैन्य सहायता गरेकाले रहेछ। यसलाई अलकायदाकै शाखा संगठनको रुपमा हेरिने गरिन्छ।

Leave a Reply

Your email address will not be published.