फैसला गर्नेको ‘चित्तमा लाग्दा’ ज्यान मुद्दाका दोषीलाई साढे ११ वर्ष कैद सजाय ‘डिस्काउन्ट’

२०६८ सालको एउटा घटना अहिले २०७७ सालमा फेरि चर्चामा आएको छ। त्यो बेला घटना चर्चामा आउनुको कारण थियो- हत्यामा संलग्न व्यक्ति अनि उसले अपराध लुकाउन अपनाएको शैली। अहिले चर्चामा आउनुको कारण चैँ त्यही घटनामाथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासको ‘चित्त’।

प्रधानन्यायाधीश राणा अनि न्यायाधीश तेजबहादुर केसीको इजलासलाई जिल्ला अदालत काठमाडौं अनि तत्कालीन पुनरावेदन अदालत पाटनले सर्वस्वसहित जन्मकैद सुनाएको कर्तव्य ज्यानको मुद्दामा दोषीमाथि भएको सजाय कतै चर्को त भएको हैन भन्ने चित्तमा लाग्दा दोषी अब चार दिनपछि कारागारमुक्त हुँदैछन्।

नेपालको कानुन अनुसार जन्मकैद भनेको २० वर्ष कैद सजाय हो। ती दोषी २०६८ माघ ८ देखि थुनामा थिए। उनले पाउनसक्ने कानुनी छुटको गणना नगर्दा २०८८ सम्म त उनी जेलमै हुन्थे। अब सजाय ८ वर्ष ६ महिना मात्र तोकेकाले उनी साउन ७ मा मुक्त हुँदैछन्।

प्रधानन्यायाधीश र न्यायाधीश इजलासको चित्तमा लाग्दा झण्डै साढे ११ वर्ष कैद घट्यो। कति बहुमूल्य चित्त। हैट !

सर्वोच्चको इजलासलाई चित्तमा लाग्दा यसरी झन्डै साढे ११ वर्ष कैद माफ पाउने भाग्यमानी हत्याका दोषी हुन् सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला। श्रीमतीको हत्या मात्रै हैन, प्रमाण नष्ट गर्न जुन तिकडम उनले अपनाएका थिए, त्यो सफल भएको भए अहिले पनि गीता ढकाल मृत हैन, प्रहरीको फाइलमा बेपत्ताको सूचीमा हुन्थिन्।

अपराध शास्त्र पढेका र चलाख रञ्जनले अपराध शास्त्रमा अपराधीको मनोविज्ञानबारे लेखिएको एक लाइन बिर्सदा फन्दामा परेका थिए। नत्र उनले अपराधबाट जोगिन जे-जे गरेका थिए, त्यो चिरेर उनलाई पक्राउ गर्न त्यति सहज थिएन।

रञ्जनकै गल्तीले असम्भव झैँ देखिएको आपराधिक घटनाको अनुसन्धान सम्भव भयो। काठमाडौं जिल्ला अदालतले अपराधको गम्भीरता र प्राप्त प्रमाणलाई हेरेर २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्म कैदको फैसला सुनायो। जिल्लाको फैसलाविरुद्ध परेको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट २०७२ मंसिर २३ मा जिल्लाकै फैसला सदर भयो।

रञ्जनका कानुनी सहयोगीहरु ‘कपोलकल्पित र शंकास्पद प्रमाण, हातको हड्डी पठाएकोमा तिघ्राको हड्डीको डिएनए प्रतिवेदन आएकाले डिएनए प्रमाण नै मिल्दैन, शंकाको भरमा दोषी ठहर गर्न मिल्दैन’ भन्दै दुबै अदालतको फैसलाविरुद्ध पुनरावेदन बोकेर सर्वोच्च गएका थिए।

प्रतिवादी भनिने कोइराला पक्षले निर्दोष भएको दावी गर्दै सफाइ मागेकोमा सर्वोच्चले हत्या गरेको पनि हो भन्यो। उनीहरुले प्रमाणै पुग्दैन भनेर दावी गरेका थिए। सर्वोच्चले सबै प्रमाणहरु पनि पुग्छ भन्यो। दुबै अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको फैसला पनि ठीक छ भन्यो।

तर मुद्दामा फुत्त इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश र न्यायाधीशको चित्त मिसिँदा जन्मकैद, ८ वर्ष ६ महिनामा बदलियो। योजनावद्ध हत्या गरेको दुई तहको अदालतबाट सदर भएको फैसलामा दोषीमाथि मिसिएको प्रधानन्यायाधीश र न्यायाधीशको चित्त श्रीमानको सनकमा परेर ज्यान गुमाउन पुगेकी गीता ढकालको परिवारप्रति भने मिसिएको देखिएन।

भएको के थियो ?

अब अलिकति घटनातर्फ लागौँ है त।

२०५० तिर सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला र गीता ढकालबीच मागी विवाह भयो। दुई छोरा पनि भयो। तर बीचमा दुबैको सम्बन्धमा खटपट शुरु भयो। दुबै अलग बस्न थाले। बुढानिलकण्ठमा गीत बसेको घर उनकै नाममा थियो। रञ्जनले छोडपत्र चाहेका थिए। गीताले मानाचामल मुद्दा हालेकी थिइन्। दुबैको सम्बन्ध तनावपूर्ण बन्दै गयो।

२०६८ पुस २७ गतेबाट एकाएक गीता आफ्नै घरबाट हराइन्। गीताका परिवारले खोज्न थाले, तर फेला पार्न सकेनन्। प्रहरी गुहारे। पहिला नेपाल प्रहरीमा भर्ना भएर रञ्जन पछि सशस्त्र प्रहरीको गठनपछि उता गएकाले प्रहरीमा उनका साथीहरु नै थिए। ढकाल परिवारले रञ्जनले बेपत्ता बनाएको भने पनि प्रहरीले पत्याएन। आजित भएर उनका बाबुले माघ ६ मा छोरी गीताको अपहरण गरेर बन्धक बनाएर राखेको भन्दै रञ्जन विरुद्ध महानगरीय प्रहरी प्रभाग बुढानिलकन्ठमा उजुरी दिए। महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए। तर प्रहरीले रञ्जनलाई पक्राउ गर्नतिर भन्दा दुबै परिवारका सदस्यलाई राखेर छलफल गराइरह्यो। त्यो बेला काठमाडौं परिसरका प्रमुख थिए एसएसपी राजेन्द्र श्रेष्ठ। रञ्जन र उनी लंगौटिया यार। त्यसको केही फाइदा रञ्जनले पाउने नै भए। पाए।

माघ ८ गते एकाएक रञ्जन पक्राउ परे। तर गीताको अपहरणको आरोपमा हैन, हत्या आरोपमा। उनले गीताको अपहरण गरेर कतै राखेका थिएनन्। घरमै मारेर शव मकवानपुरको जंगलमा पुर्‍याएर आधाभन्दा बढी भाग जलाइसकेका थिए। अपराधशास्त्रै पढेका भए पनि अपराध गरेपछि उनको मनस्थिति पनि अपराधी हुँदा उनी चुके र मात्र पक्राउ परे।

आफ्नै गल्तीले फन्दामा

अपराधीको मनोवृत्तिबारे अपराधको अनुसन्धान गर्नेहरु भन्छन्, ‘कुनै प्रमाण त छुटेको छैन भनेर अपराधी एक पटक दोहोरिएर अपराध गरेको ठाउँमा आउँछ नै।’

रञ्जनको केसमा पनि भएको यही हो। उनले काठमाडौंमा श्रीमती मारेर लाश जलाएको मकवानपुरको टिस्टुङ् गाविस वडा नम्वर ८ नपुगेको भए गीता हत्या घटना पत्ता लगाउन कठिनै थियो।
रञ्जनले पुस २७ मै श्रीमतीको हत्या गरेर सशस्त्र प्रहरीले उनलाई सुविधामा दिएको गाडीमा गीताको शव राखेर गाडीभरी पेट्रोल र डिजेल बोकेर टिस्टुङ्ग पुगेर सडक किनार नजिकै गीताको शव जलाएका थिए। तर शरीरको सबै भाग जलाउन सकेनन् र उनको अपराध खुल्यो।

एक्लै भएकाले उनले शव सडकबाट धेरै तल लान नसक्दा सडक किनारैमा जलाउन थाले। अदालतको फैसला र रञ्जनको बयानमा त खुल्दैन, त्यो बेलाका अनुसन्धान अधिकृतसँग कुरा गर्दा उनीहरुले भने अनुसार शव जलाउँदा जलाउँदै एउटा गाडी आएपछि आत्तिएर रञ्जनले गीताको जल्न बाँकी शव झ्याङ्गतिर फालेर हिँडेका थिए।

दोस्रो दिन पुस २८ गते मकवानपुरको टिस्टुङ् गाविस वडा नम्बर ८ को मेत्राङ्गमा शरीरको आधाभाग भन्दा बढी जलेको शव फेला परेको थियो। तर कसको हो कसको भनेर इलाका प्रहरी कार्यालय टिस्टुङ्गले मकवानपुर पठायो, बस्यो।

यता काठमाडौंमा गीताको खोजी जारी थियो। रञ्जन गई होली कतै भन्दै हिँडिरहेका थिए। तर अपराधीको मन भतभत त पोल्छ नै। आफूले फालेको शवको टुक्रा के भयो होला भन्ने जिज्ञासा मेट्न माघ ७ गते रञ्जन त्यही ठाउँमा पुगे।


रञ्जनलाई पक्रने सूर्यमान र सुनीता दोङ। फाइल फोटो : नागरिक

स्थानीय सूर्यमान दोङ्ग र उनकी श्रीमती सुनिता लगायतले जलेको शव भेटेकै ठाउँमा यताउता गरेको मान्छे देखेपछि उनलाई नियन्त्रणमा लिए। गाडीको चाबी खोसे। म सशस्त्रको डिआइजी हुँ भनेर धम्क्याए पनि। तर उनीहरुले नतर्सिएर इप्रकाका प्रहरी बोलाएर जिम्मा लगाए। प्रहरीले सशस्त्रको डिआइजी भएको चाल पाएपछि छाडिदियो। उनी रन्थनिएर नारायणगढ पुगे।

यता काठमाडौं प्रहरीले उनी टिस्टुङ्ग गएको, स्थानीयले समातेको अनि रञ्जन फेला परेकै ठाउँमा जलेको शव फेला परेको सूचना पायो। उनी नारायणगढ भएको चाल पाएपछि उनलाई काठमाडौं फर्काउन प्रयास भयो। उनी माने र काठमाडौं आउँदाआउँदै माघ ८ मा नागढुंगामा पक्राउ परेका थिए।

शरीर जलेर डल्लै भए पनि डिएनए टेस्ट सम्भव थियो। गीताको आमा बाबुसँग म्याच भो। हड्डीमा बाँधिएको घडी फेला परेको थियो, जुन उनको आमाले सिंगापुरबाट ल्याएर उपहार दिएको खुल्यो। बडीगार्ड, सहयोगी सबैको बयानबाट रञ्जन उम्कने सम्भावना थिएन। एक दिन मैले तत्कालीन एसएसपी राजेन्द्र श्रेष्ठलाई अनुसन्धानको प्रगति र रञ्जनको बयानबारे सोध्दा रञ्जनले भनेको वाक्य सुनाएका थिए, ‘Yes, I’ve done (it), and I’m gone.’

उनले प्रहरीसँगको बयानमा हत्या आरोप स्वीकारेको बयान अदालतमा गएर अस्वीकार गरे पनि प्रमाण र घटनाक्रमका आधारमा उनी फुत्कन सकेका थिएनन्। सर्वोच्चको फैसलापछि प्रमाणका आधारमा हैन कि ‘चित्तका आधारमा’ उनले भारी कैद छुट पाए।

संगति नमिलेको फैसला

‘दुबै जना बीच भनाभन हुँदा आवेगमा आएर रञ्जनले धकेल्दा गीताको टाउको भित्तामा ठोकिएर मृत्यु भएको’ सर्वोच्चको फैसलामा मृत्युको कारण यस्तै नै उल्लेख छ। यो भनेको भवितव्य हो। अर्थात् अपराध गर्ने कुनै मनसाय नभएको तर आवेगमा आउँदा अपराध हुन गएको।

फैसलाको ८२ ‌औ बुँदामा ‘गीता बस्ने घरमा रञ्जन जाँदा गीताले व्यापारका लागि पैसा मागेको कारण विवाद भएको र त्यही विषयमा झगडाहुँदा रिस उठी आवेगमा आई कोइरालाले गीतालाई धकेल्दा टाउको भित्तामा ठोक्किएकाले मृत्यु भएकाले र वारदाता हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको’ लेखिएकाले सर्वोच्चले यसलाई आवेश प्रेरित घटनाको सूचीमा राखेको प्रस्टै छ।

फेरि त्यही फैसलामा रञ्जनका सहयोगीसहितको बयानहरुले नै घटना पूर्व नियोजित देखाउँछ। जस्तो उनी पुस २१ गते चीनबाट आएको तर संगठनलाई जानकारी नै नदिएको। २७ गते बिहान आफ्नो सुरक्षा सहयोगीलाई जर्किनमा पेट्रोल हालेर राख्‍न लगाएको र आदेश अनुसार उनको गाडीमा २ जर्किन पेट्रोल राखेको। २७ गते नै गीतासँगै बस्दै आएको कान्छो छोरालाई आफ्नो घरमा लगेको। सहयोगीसहित घर जाने उनी एक्लै घर गएको। २७ गते साँझ सवा ६ बजे आफ्नो गाडी मगाएर आफै चलाएर गीता बस्ने घर जानु, डेढ घन्टापछि फर्किएर हलचोकमा रहेको सशस्त्रको पम्पमा डिजेल राख्न लगाउनु, टिस्टुङ्ग पुर्‍याएर शव पूरै नष्ट गर्ने प्रयास गर्नु- के यी सब भवितव्य नै हुन् त ? संयोगै हो त यी सब ?

मुद्दा प्रक्रियामा प्रहरीमा दिएको बयानभन्दा अदालतमा दिएको बयानको महत्व बढी देखिने गरेको थियो। तर रञ्जनले अपराध स्वीकारेर अनुसन्धानमा सघाएको आशय झल्काउन यो फैसलामा त ‘अदालतमा अस्वीकार गरे पनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा स्वीकारेको भनेर दोषी हो स्वीकारेको पनि त छ’ भनेर हल्का सहानुभूति जगाउने प्रयास भएको भान पो पर्‍यो।

त्यही फैसलामा -गीताको मृत्यु कालगतिले नभई कर्तव्यबाट भएको, डिएनए लगायतका कोइरालाविरुद्धको प्रमाण ग्राह्य हुने र स्वतन्त्र प्रमाणहरुले समेत घटना भएको हो भन्ने देखाएको, रञ्जन निर्दोष रहेछन् भन्ने अवस्था नदेखिएको, गीताको मृत्यु रञ्जनकै कर्तव्यबाट भएको, डिएनमाथि उठाएको प्रश्नमा सहमत हुन नसकिएको भन्दै सफाइ पाउँ भन्ने उनको जिकिर पुग्न सक्दैन भन्दा सजाय कतै चर्को भयो कि भन्ने पाटो कसरी चित्तमा लाग्यो कुन्नि!

‘चर्को पर्न जाने’ भनेर लेखिएको पनि छैन। ‘चर्को पर्न जाने जस्तो’ लेखिएको छ। ‘जस्तो’ लेखिएकाले इलसाजमा रहेका दुबैजना निश्चित छैन भन्ने देखाएन र।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले न्यायाधीशलाई ‘जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबित भएको र मिसिलमा संलग्न प्रमाणबाट त्यस्तो साबिति साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितीलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खलाई रायसहितको फैसला गर्न सक्ने’ विशेषाधिकार दिएको छ। सायद यो मुद्दामा यही अधिकारको प्रयोग भयो होला।

तर ‘सजाय चर्को भयो कि’ भनेर हेर्दा भन्दै गरिएको ब्याख्यामा जसरी घटना आवेशमा भएको अनि नाबालक छोराहरुको हेरचाह, संरक्षण अनि शिक्षादीक्षालाई प्रभाव पार्ने देखिएको भन्दै जन्मकैदको सजाय चर्को पर्न जाने जस्तो ‘चित्तमा लागेको’ भन्दै जन्मकैद ८ वर्ष ६ महिना पारियो, यो चै न्यायसंगत हैन कि भन्ने मेरो पनि ‘चित्तमा लाग्यो’ श्रीमान्।

२०७७ जुलाई १९ मा माइसंसारडटकममा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *