काठमाडौं- भोड्का बोकेर कोठामा निम्त्याइएका कृष्णबहादुर बोहोराको क्रुरतापूर्व हत्या गरेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरीको बयान एकनासको छैन। चीतवनमा पक्राउ गरेर काठमाडौं ल्याएदेखि उनले हत्या कसरी गरेको भन्ने पाटोबारे सरर बताए पनि हत्या गर्नुको कारणबारे भने पटक पटक फरक फरक कुराहरु बताउने गरेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए।
प्रारम्भमा आफैंमाथि यौन दुर्व्यवहार गरेपछि सहन नसकेर हत्या गरेको दावी गरेकी उनले अब आफ्नी १५ वर्षकी छोरीलाई बलात्कार प्रयास गरेपछि सहनै नसकेर मारिदिएको बताउने गरेकी छिन्।
बयानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले आफुलाई पनि बारम्बार दुर्ब्यवहार र धम्क्याउने गरे पनि सहेको तर १५ वर्षकी छोरीलाई समेत जिस्काउने, शरिरमा चलाउन खोज्ने अनी जवर्जस्ती गर्ने प्रयास गर्ने गरेको सुनेपछि मन थाम्नै नसकेको उनले दावी गरेरहेकी छिन्।
घटनाको दिन पनि आफु कोठा बाहिर भएको बेलामा उनले छोरीलाई तानेर जिउमा चलाउने प्रयास गरेको भनेर छोरीले भनेपछि सार्है रिस उठेको र मार्ने योजना बनाएको उनले प्रारम्भिक बयान दिएकी छिन्। महाशाखा स्रोतले जानकारी दिएको उनको बयानको एक अंश :
छोरीले आमा त्यसले मलाई जवर्जस्ती तान्यो भनेपछि रिस उठ्यो। अनी मार्छु अब भन्ने लाग्यो। अनी उसलाई खाजामा लट्ठ्याउने औषधी मिसाएर खुवाइदिए। रक्सी र लट्ठ्याउने औषधी खाएपछि उ बेहोस जस्तै भयो। त्यसको अनुहार देखे लगत्तै जिउमा देवी चढेजस्तै भयो। नजिकै घन थियो। त्यसले अण्डकोशमा हानिदिए अइया भन्यो। यसरी मर्दैन जस्तो लागेपछि सलले घाँटी कसिदिए। उ चल्न छाड्यो। मेरो रिस मरेको थिएन। भान्छाबाट चक्कुले टाउको काटिदिए।
९ वजे हत्या, ३ वजे बल्ल शब फालियो

प्रारम्भिक बयान अनुसार कल्पनाले बेलुका ९ वजेतिर कृष्णबहादुरको हत्या गरेको देखिन्छ। त्यो बेलामा उनका छोराछोरी अर्कै कोठामा गइसकेका थिए। उनीहरु दुईजनामात्र कोठामा थिए। नौ बजेतिर हत्या गरेर टाउको काटेपछि बल्ल उनलाई होस आए जस्तै भयो।
त्यसपछि उनी आत्तिइन्। शब कोठामै राखे पक्राउ परिने शब फालौ भने एक्लै नसकिने भएपछि उनले दुबै खुट्टा घुँडा मुनिबाट काटिदिइन् र खुट्टा र टाउको झोलामा राखेर एक्लै कोठाबाट निस्किएर डेराको घरबाट भन्दा अली पर लगेर फालेकी थिइन्।
कोठामा फर्किएर शबको बाँकी भाग उचाल्न खोज्दा सकिनन्। छोप्न बोरा खोजिन तर त्यत्रो बोरै थिएन। कपडा राख्न अली ठुलो सुटकेस थियो छोरा-छोरी सुतेको कोठामा। उनी कोठामा गएर सुटकेस खाली गर्न थालिन्।
‘सुटकेसको कपडा निकाल्दा छोरीले किन निकालेको भनेर साधेकी रैछिन्। उनले चितवन जान भनिनन्,’ महाशाखा स्रोतले भन्यो ‘ सुटकेस खाली भएपछि उनी एक्लै कोठामा फर्किएर शबको शरिर र हात प्याक गर्न थालिन्।’
बोक्न नसकेपछि छोरीको सहायता

उनले सुटकेसमा शब पोको पार्न गार्हो भएपछि छोरिलाई बोलाएर सबै घटना सुनाइन्। अब यो नफाले प्रहरीले थाहा पाउँछ। खोलामा लगेर फाले कसैले थाहा पाउँदैन भनेपछि छोरीले सुटकेसमा शब पोको पार्न उनलाई सघाएके अनुसन्धानमा संलग्न प्रहरीस्रोतले जानकारी दियो।
सुटकेसमा शब पोको पारेर चेन लगाउन दुबै जनलाई विहानको २ वजे लाग्यो। उनले सुटकेस गुडाउन ह्यान्डल समातिन् तर भाँचियो। त्यसपछि भान्छामा गएर डोरी ल्याएर नाम्लो बनाएर शब भएको सुटकेस बोकिन्। बाहिर पानी परिरहेको थियो। छोरी आमालाई छाता ओढाउनसँगै आइन्। उनीहरुको योजना खोलासम्म पूर्याउने भए पनि सकेनन्। केही पर पुगेपछि दुइ वटा ट्याक्सी देखेपछि त्यसकै खोँचमा सुटकेस राखेर आमा छोरी डेरामा फर्किएका थिए।
डेरामा फर्किएर सुटकेसबाट भर्यागंमा चुहिएको रगतको टाटा सफा गरेका थिए। कोठामा फर्किएर बाँकी भएको भोड्का खाएर उनी सुतिन्।
‘त्यही किन फालेको भनेर सोध्दा बोक्नै सकिन, ज्यान पुरै गल्यो अनी भनेकी छिन्’ बयानमा संलग्न स्रोतले भन्यो।
कोठामा केही दिन बस्ने योजनामा थिए बोहोरा
प्रहरीका अनुसार बोहोरा २-३ दिन उनकै डेरामा बस्ने योजना सहित केही लगाउने कपडा लिएर बस्दै आएको गेष्ट हाउसबाट कल्पनाको डेरामा गएका थिए। उनले आफु बस्दै आएको गेष्ट हाउसका सञ्चालकलाई केही दिन आउँदिन भनेर हिडेका थिए। उनले केही कट्टु र गन्जी आफुसँगै लगेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार उनका ती कपडा कल्पनाको कोठामा बरामद भइसकेको छ।
बोहोरासँग ६० लाखको ब्यहोरा तर भन्छिन् एक पैसा लिएको छैन
प्रहरीले यो हत्यालाई कतै लेनदेनबाट उब्जिएको विवादका कारणले भएको त हैन भनेर पनि हेरिरहेको छ। प्रहरीले बोहोरा बस्ने गेस्ट हाउसमा फेला परेको डायरीमा उनले ६० लाख लिनुपर्ने हिसाब देखिएको छ। तर कल्पनालाई दिएको भनेर नाम लेखिएको छैन। तर उनको बयानले भने लेनदेनको ब्यवहार पनि थियो है भन्ने चै शंका उब्जाएको एक प्रहरीले बताए।
‘अन्य प्रशंगमा सोधपुछ गर्दा पनि उनी प्रश्नै नसोधी मैले एक पैसा लिएको छैन भनिरहन्छिन् यसले लेनदेन पनि हुनसक्नै देखाउँछ’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।
प्रहरी देखेपछि मात्रै छोरालाई जानकारी
उनले १५ वर्षिय छोरीलाई अपराधमा संलग्न गरेको खुले पनि करिव ११ वर्षका छोरालाई भने थाहै दिएकी थिइनन्। हत्या गरेर शब फालेको भोलीपल्ट शब फेला परेपछि टोलमा प्रहरी आयो। कुकुर पनि थियो। कुकुर उनीहरुको डेरा वरिपरी नै घुमेपछि आत्तिएकी उनले छोरालाई सबै घटना नभने पनि बाहिर जानु हुन्न प्रहरीले समात्छ, अब यहाँ नबस्ने चीतवन जाने भनेर संकेत भने गरेकी थिइन्।
आमा-छोरी मात्रै हुन् त
घटनाको प्रकृतिले आमा छोरीमात्रै घटनामा संलग्न हुन भन्नेमा शंका बढाउँछ। एसएसपी थापाका अनुसार अहिलेसम्मको अनुसन्धान र घटना विवरणले भने तेस्रोपक्षको संलग्नता र भुमिका देखिएको छैन। उनीहरुलाई काठमाडौंबाट चीतवन लैजाने एम्बुलेन्स चालक पनि शंकामा नपरेका हैनन्। प्रहरीले नियन्त्रणमा पनि लिएको थियो। तर दुबैविच चिनजान रहेको र विरामी लिएर काठमाडौं आएको बेलामा चीतवन जान पाए हुने भनेकाले लगिदिएको बयान दिए। घटनाको दिन चालक चीतवनमै रहेको देखिएकाले पनि तत्काल उनी संलग्न हुन सक्ने नदेखिएकाले आमा छोरीलाई मात्र अनुसन्धानका लागि प्रहरीले पाँच दिने म्याद लिएको छ।